सुदूरपश्चिम खप्तड गोल्डकपः फ्रेन्ड्सलाई हराउँदै मनाङ च्याम्पियन

 संवाददाता    २०७८, २८ फाल्गुन शनिबार २१:३३     447 जनाले पढ़िसके



Spread the love

मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदै मनाङ च्याम्पियन बनेको हो। मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो। उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए।

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए।

त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए।

तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए। खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सीमित भए।

त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए। उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ। उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ।

मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी भए। उनले एक लाख पाएका छन्। मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोईस सर्वाधिक गोलकर्ता भए। सुदुरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए। उनीहरुले जनही २० हजार पाएका छन्।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।