त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । भारत दर्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई बुधबार ३–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।बिर्तामोडस्थित डोमालाल रंगशालामा आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले गोल गरेका थिए । नवौं मिनेटमा सन्तोषले झण्डै २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । जर्ज प्रिन्सले गोल गरेपछि आर्मीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
सन्तोषको पासलाई नियन्त्रणमा लिदै जर्ज प्रिन्सले पेनाल्टी बक्सको ठिक बाहिरबाट गरेको प्रहार विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ गोलमा परिणत भएको थियो । विकासले ६८ औं मिनेटमा हेडमार्फत गोल गरेपछि आर्मीले आरामदायी अग्रता बनाएको थियो ।
सोही खेलमार्फत चोटमुक्त भएका फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकास खवासले पूनरामगन गरेका छन् । खेलमा ३–० को अग्रता लिएको अवस्थामा ७८ औं मिनेटमा दुवै खेलाडी मैदान प्रवेश गरेका थिए । खेलको ७८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको ठाँउमा नवयुग र दीपक गुरुङको ठाँउमा विकास मैदान प्रवेश गरेका थिए ।
विकास झण्डै एक वर्षपछि मैदान फर्केका हुन् । गत वर्ष चैतमा कीर्गिस्तानको ओलम्पिक टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनलाई चोट लागेको थियो । वैशाखमा उनको शल्यक्रिया भएको थियो । नवयुग भने झण्डै ५ महिनापछि मैदान फर्केका हुन् । उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्ट (एमसिएल) मा चोट लागेपछि कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो । सहिद स्मारण ए डिभिजन लिगको तयारीमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) सँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा नवयुगलाई चोट लागेको थियो । फोटो : फाइल