काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार अभ्यास खेलमा त्यहाँको स्थानीय टिम श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई जितका लागि १९७ रनको लक्ष्य पेस गरेको छ ।
दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ थालेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो ।
नेपालले सोमबार खेलेको पहिलो खेलको टिममा रहेका तीन खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख, करण केसी र कमलसिंह ऐरीको स्थानमा विवेककुमार यादव, भीम सार्की र पवन सर्राफलाई टिममा राखिएको छ ।
नेपालले सुरुमै दुई विकेट गुमाएको थियो । ज्ञानेन्द्र मल्ल एक र कुशल भुर्तेल तीन रन बनाएर पवेलियन फर्किएका थिए । लगत्तै रोहितकुमार पौडेल र विनोद भण्डारी पनि चाँडै आउट भए । रोहितकुमार आठ र विनोदले दुई रन जोडे । पवन सर्राफ २२ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । दीपेन्द्रसिंहले पहिलो खेलमा पनि ४३ रन बनाएका थिए । भीम सार्कीले २८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । सागर ढकालले आठ रन बनाए ।
नेपाल पहिलो खेलमा १११ रनले विजयी भएको थियो । file photo