टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत : ओमन ३९ रनले पराजित

 संवाददाता    २०७८, ६ फाल्गुन शुक्रबार १६:४१     106 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो ।

नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले २/२ तथा जितेन्द्र मुखिया,आविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

ओमानका लागि नसिम खुशीले सबैभन्दा धेरै २४ रन बनाएका थिए । खुशीलाई लामिछानेले आउट गरेका थिए । बोल्ड हुनुअघि उनले २ छक्का र एक चौका प्रहार गरेका थिए ।

नेपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाउन सकेको थियो । नेपालको तर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध नेपाल ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएका थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १५, लामिछाने र लोकेश बमले १६/१६ रन बनाएका थिए ।ओमानका लागि खवार अलीले ३० रन दिएर ३ विकेट लिए भने बिलाल खानले २५ रन खर्चेर २ महत्त्वपूर्ण २ विकेट लिएका थिए । फयाज बट र जिसहान मक्सुदले भने १/१ विकेट लिए ।