साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन्। दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन्।
दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ। हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नु पर्नेछ।
शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ। सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ।
सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लबलाई हिमालयन शेर्पा क्लबले चुनौती दिनेछ। आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ। हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ।
दिनको तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन्। थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ।