काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । टोली केहीबेरअघि ओमान प्रस्थान गरेको हो ।
दिउँसो युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेका थिए । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गरेका हुन ।
नेपाली टोली आज राति साढे आठ बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ । मन्त्री गहतराजले विश्व कपमा छनोट भएर आउन शुभकामना दिँदै नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै गरेको उल्लेख्य प्रगति हेर्दा सफल हुनेमा विश्वस्त रहेको पनि बताए। सरकारले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको भन्दै मन्त्री गहतराजले केही ठूला पूर्वाधारहरू निर्माणाधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी काम भइरहेको दाबी गरे ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतका कमजोरी सच्याएर नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे।
ग्लोबल छनोटको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनाेट खेल फेब्रुअरी १८ तारिखदेखि हुँदैछ । दुवै टोलीबाट शीर्ष दुई टोली सेमिफाइलनमा जानेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।
छनोटअघि नेपालले ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय शृङ्खला खेल्नेछ । यसैबीच विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्ने नेपाली टोलीमा सागर ढकाल पनि समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ओमान भ्रमणमा जाने दिन आज नै ढकालको नाम पनि सार्वजनिक गरेको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ढकाल थपिएसँगै ओमान जाने खेलाडीको सङ्ख्या १७ जना पुगेको छ ।