काठमाडौँ । नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण खेल तनाबपूर्ण भएको छ । दोस्रो हाफको खेल चल्दै गर्दा खेल तनावग्रस्त बनेको हो ।
६९ औँ मिनेटमा नेपालका अञ्जन विष्टलाई मरिससका खेलाडीले ट्याकल गरेपछि खेलमा तनाब भएको थियो । त्यसैक्रममा नेपाली टिमका ब्यवस्थापक मधुसुधन उपाध्याय र गोलकिपर प्रशिक्षक विकाश मल्ल नै मैदानभित्र प्रवेश गरेका थिए ।
तनाब बढेपछि रेफ्रिले दुबै टिमका एक एक जना खेलाडीलाई रातो कार्ड दिए । नेपालका पुजन उपरकोटी र मरिससका फूलचन्दले राताे कार्ड पाएका छन्। यस्तै नेपाली टिमका गोलकिपर प्रशिक्षक विकाश मल्ललाई पनि रातो कार्ड दिइएको छ । तनाबका कारण केहीबेर खेल स्थगित गरिएको थियो ।
त्यसलगत्तै मरिससका अर्का खेलाडीले पनि दोहोरो पहेँलो कार्ड पाएर मैदान छोडेपछि मरिसस ९ खेलाडीमा सिमित भएको छ । यसअघि चारजना खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो । खेलमा नेपाल १–० ले विजयी भएको छ ।नेपाललाई जिताउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक भयो । उनले खेलको दशौँ मिनेटमै गोल गरेका थिए ।