विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा पाँच पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० ले हराउँदै आर्मीले सेमिफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो।
आर्मीलाई जिताउन सब्सिच्युट फरवार्ड राजीव गुरूङले निर्णायक गोल गरे। उनले मैदान छिरेको सात मिनेटमै गोल गरेका थिए।
खेलको ७० औं मिनेटमा वैकल्पिक फरवार्ड राजीवले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा गोल हुन सकेन र आर्मीले १-० ले खेल जित्यो।
अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङले यसअघि अर्को विभागीय टोली पुलिसलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।
यो सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। अब पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली एपिएफले मछिन्द्रको सामना गर्नेछ।प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन्। आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।