पोखरा — उद्घाटन खेलमै एपीएफ क्लबसँग आयोजक सहारा क्लब फेरि पराजित हुन पुगेको छ । बिहीबार २० औं आहा–रारा गोल्डकप फुटबलको उद्घाटनमा सहारा २–० ले स्तब्ध भयो ।
दर्शकविहीन पोखरा रंगशालामा एपीएफसँग यसपालि सहारालाई दुईपल्टको हारमा बदला लिने मौका थियो । १७ र १९ औं संस्करणको उद्घाटन खेलमै आयोजकलाई हराएको एपीएफले यो सिजन पनि सहारालाई हराउन सफल भयो । एपीएफको उद्घाटन खेलमा सहाराविरुद्ध ह्याट्रिक जित बनेको छ । एपीएफका आवास लामिछाने र प्रदीप लामाले गोल गरेका थिए । स्पेनमा रहेर व्यावसायिक फुटबल खेलिसकेका आवासले १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाए । युरोपियन फुटबलको अनुभव बोकेका उनले प्रतियोगितामा डेब्यु गरे । एपीएफका अर्मान्ड बिडाउनको पासमा आवास दुई डिफेन्डर बिट गर्दै वान टु वान मुभमा गोल गर्न सफल भए ।
अजयी मार्टिन्स, पिटर सेगुनसहित सातदोबाटो युथका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टोलीमा भने समन्वय अभाव प्रस्ट खट्कियो । त्यसको फाइदा उठाउँदै एपीएफले ६० औं मिनेटमा अर्को गोल थप्यो । गोल प्रदीपले गरेका थिए । मिडफिल्टर रवि थिङको क्रसलाई प्रदीपले नियन्त्रणमा लिँदै दुई डिफेन्डरबीचबाट पहिलो बार च्याप्दै गोल गरेका थिए । त्यतिबेला सहाराका गोलरक्षक अभिषेक बरालले कुनै प्रतिक्रिया जनाउन सकेनन् । सहाराका केही खेलाडीको प्रयासलाई एपीएफका गोलरक्षक कुरियामा युयाले बिफल बनाए । उनी जापानका हुन् । उनी आबद्ध भएदेखि एपीएफले हारेको छैन । ‘ए’ डिभिजन लिगको तालिकामा नवौं नम्बरमा रहेको एपीएफ तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको हो ।
त्यसो त केही राम्रा अवसर सदुपयोग गर्नबाट एपीएफ चुक्यो । खेलको २३ औं मिनेटमा अर्मान्डको पासमा बिक्की तामाङको पेनाल्टी बक्सभित्रको प्रहार आकासिएको थियो । खेलको ५३ औं मिनेटमा कप्तान नवीन लामाको फ्रिकिकमा अर्मान्डको हेडर क्रसबारमा लाग्दै बाहिरियो । ६३ औं मिनेटमा अर्मान्डको प्रहार पोलमा लाग्दै फर्किएपछि एपीएफले अग्रता बढाउन चुक्यो । सहाराका मुकुन्द निउरेले पहिलो हाफको इन्ज्युरी समयमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । कप्तान मानबहादुर तामाङको फ्रिकिक एपीएफका गोलरक्षक कुरियामाले नियन्त्रणमा लिन नसक्दा निउरेको प्रहार डिफेन्डर एडामा डोम्बियाले हेडबाट क्लियर गरिदिए । खेलमा नवीन लामा म्यान अफ द म्याच बने ।