काठमाडौं । च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।
एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो ।आसिफले प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका थिए । यस्तै एपीएफकै ओपनिङ जोडी प्रदीप ऐरी र उनले सर्वाधिक २४-२४ चौका प्रहार गरेका थिए ।उत्कृष्ट खेलाडी वापत आसिफले नगद ३० हजार नगद प्राप्त गरे ।
यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी प्रदेशका युवा स्पीनर अनिल खरेल उत्कृष्ट बलर घोषित भएका छन् । समूह चरणमा गरेको प्रदर्शनका आधारमा यो अवार्ड दिइएको हो । अस्वस्थ भएपछि सेमिफाइनल र फाइनल गुमाएका पुलिसका कुशल भुर्तेलले समूहको चार खेलमा एक अर्धशतकसहित १८२ रन बनाएका थिए ।