सहिद स्मारक लिग :आज एनआरटी र जावलाखेल भिड्दै

 संवाददाता    २०७८, ३ माघ सोमबार ११:५४     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अन्तर्राष्ट्रिय विश्रामअघि नवौं चरणको अन्तिम खेलमा सोमबार न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलविरुद्ध खेल्दैछ ।

अंक तालिकामा सुधार गर्नका लागि दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण हुनेछ । एनआरटी आठ खेलबाट १० अंकका साथ आठौं स्थानमा छ । आजको खेल जितेमा एनआरटी शीर्ष ६ भित्र पर्ने छ । समान खेलबाट आठ अंक जोडेको जावलाखेल दसौं स्थानमा छ । जुन रेलिगेशन क्षेत्रको च्यासल युथभन्दा तीन अंकले मात्र माथि हो । रेलिगेशनको सम्भावना टार्नका लागि पनि जावलाखेललाई जित्नै पर्नेछ ।

कोभिड–१९ का कारण आइतबारको एक खेल प्रभावित भइसकेको छ । नवौं चरणका क्लबहरुलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कोभिड–१९ संक्रमणबाट ‘आतंकित’ थिए ।

च्यासल युथका १९ खेलाडी कोरोना संक्रमित भएपछि आइतबार नेपाल पुलिस क्लबविरुद्धको खेल स्थगित भएको थियो । मछिन्द्रको पनि मनिष डाँगी पनि कोभिड–१९ संक्रमित भएका थिए । मनाङ मस्र्याङ्दीमा पनि ६ खेलाडी कोरोना संक्रमित भएको बताइएको थियो ।

जावलाखेलका प्रशिक्षक किशोर केसले पनि गत बिहीबार खेलाडीहरु विरामी भएका कारण ९ खेलाडी प्रशिक्षणमा उपलब्ध नभएको बताएका थिए । तथापी उनले चिसो मौसमका कारण खेलाडी विरामी परेको बताएका थिए ।

‘‘चिसोले गर्दा खेलाडी विरामी छन् । हामी द्वविधामा छौं । ९ खेलाडीले प्रशिक्षण गरेका छैनन् । रुघाखोकी लागेको छ । सबै कोभिड टेष्ट गरेर नै मैदान आएका छन् । केही खेलाडी निको हुँदै पनि आएका छन् । उनीहरु आराम गरिरहेका छन् । आशा गरौं खेलमा पनि ठिक हुनेछन्,’’ जावलाखेलका प्रशिक्षक केसीले भनेका थिए, ‘‘एनआरटीविरुद्ध जित्नको लागि हामी प्राविधिक, शारिरीक र मानसिक रुपमा तयारी गरेका छौं ।’’

पछिल्लो संस्करणमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका थिए । त्यसअघि २०७५ मा भने एनआरटीले जावलाखेललाई २–१ ले हराएको थियो । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि खेलाडी विरामी परेर गाह्रो भएको बताएका छन् । उनले जावलाखेललाई हराउनकै लागि खेल्ने बताएका छन् ।