बालिकाको हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ । तान्त्रिक उपचारका लागि ल्याइएकी बालिकालाई काठमाडौं रानीवनमा रहेकी उर्मिला तामाङ शाहीकोमा पुर्याइएकोमा माताबाट चरम यातनापछि बालिकाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–२ घर भई हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने लगायत समस्या थिए ।
शारीरिक र मानसिक समस्या भएकी उनलाई तान्त्रिक उपचारका लागि अभिभावकले माताकहाँ पुर्याएका थिए । उपचारका क्रममा माताले बालिकाको शरीरका विभिन्न भागमा त्रिशूलले प्रहार गरेपछि बालिकाको ज्यान गएको हो ।
बसाइ टाढा भएकाले अभिभावकले बालिकालाई माताको मा छाडेर गएका थिए । केही दिनपछि माताले बालिका बेहोस बनेको खबर परिवारसम्म पुर्याएकी थिइन् । शनिबार बिहान बालिकाको आमासहित केही आफन्त माताको टहरोमा पुग्दा बालिका अचेत थिइन् । बालिकाकी आमासहितले उपचारका मनमोहन अस्पताल लैजाँदा चिकित्सकले तीन घण्टाअघि नै उनको मृत्यु भएको बताएका थिए ।
बालिकाको मृत्युपछि आफन्तले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जानकारी गराएपछि प्रहरीले माता र उनकोमा बस्दै आएका दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।
बालिकाको शव पोस्टमार्टम भए पनि आफन्तले शव बुझ्न मानेका छैनन् । मातालाई कानुनअनुसार कारबाही गर्ने सुनिश्चत नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन् ।
मृतक बालिकाका बाबु भने केही वर्षदेखि रोजगारीको सिलसिलामा विदेशमा छन् ।