म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

 संवाददाता    २०७८, १३ पुष मंगलवार ०७:४०     91 जनाले पढ़िसके



Spread the love

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ। युनाइटेडले गएराति भएको खेलमा न्यूक्यासल युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

न्यूक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिन र युनाइटेडका लागि इडिन्सन काभानीले गोल गरे।

खेलको सातौं मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए । पहिलो हाफसम्म १-० ले अघि रहेको घरेलु टोलीले दोस्रो हाफको अन्त्यतिर त्यो अग्रता जोगाउन सकेन।

खेलको ७१ औं मिनेटमा काभानीले गोल गर्दै हारबाट जोगाए।

बराबरीसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने मौका गुमायो। १७ खेलबाट २८ अंक जोडेको युनाइटेड सातौ स्थानमा छ। न्यू क्यासल ११ अंक जोडेर रेलिगेसन जोनको १९ औं स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको ४७ अंक छ। एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित दोस्रो र समान अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ।