माउरिन्होको रोमा ६–१ ले स्तब्ध, टोटनहम पनि पराजित

 संवाददाता    २०७८, ५ कार्तिक शुक्रबार ०८:२२     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं । जोजे माउरिन्होको एएस रोमा गएराति युरोपा कन्फेरेन्स लिगमा नर्वेको बोडो/ग्लिम्टसँग ६–१ ले स्तब्ध भएको छ ।
इटालियन सिरी ‘ए’ क्लब रोमा यूईएफएको नयाँ क्लब प्रतियोगिता कन्फेरेनस लिगको एक प्रमुख दाबेदार टिम हो । तर गएराति अप्रत्यासित रुपमा पराजित भएको हो । घरेलु टोली बोडो/ग्लिम्टले आठौं मिनेटमा इरिक बोथेमको गोलबाट अग्रता लिएको थियो । प्याट्रिक बर्गले २०औं मिनेटमा अग्रता दोब्बर बनायो । रोमाले २८औं मिनेटमा कार्लेस पेरेजको गोलबाट पुनरागमनको प्रयास गरेको थियो । तर दोस्रो हाफमा घरेलु टोली थप आक्रमक बनेपछि रोमा अंकबिहीन बन्यो ।

५२औं मिनेटमा बोडो÷ग्लिम्टका बेथेमले व्यक्तिगत दोस्रो गोल गरे । ७१औं मिनेटमा ओला सोलबाकेनले अर्को गोल थपे । अमाह पेलेग्रिनोले ७८औं मिनेटमा पाँचौं गोल गरे । सोलबाकेनले ८०औं मिनेटमा अर्को गोल थपेपछि बोडो÷ग्लिम्टले सहजै तीन अंक पक्का गर्यो ।

उनीहरुले हामीभन्दा उच्च स्तरको प्रदर्शन गरे । उनीहरुको पहिलो रोजाईको टोलीले हाम्रो दोस्रो रोजाइको टोलीभन्दा राम्रो खेल्यो,’ रोमाका प्रशिक्षक माउरिन्होले भने, ‘‘मेरो खेलाडीलेभन्दा उनीहरुको खेलाडीले राम्रो खेले । मैले राम्रो नियतले मेरो उत्कृष्ट खेलाडीलाई आराम दिएको थिएँ । तर हामीले त्यसको सजाय भोग्यौं ।’’

पहिलो दुई खेल जितेको रोमाको समूह चरणमा यो पहिलो हार हो । बोडो/ग्लिम्ट भने अपराजित छ । दोस्रो जितपछि बोडो/ग्लिम्ट सात अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा छ । ६ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । जोर्या तीन अंकका साथ तेस्रो स्थानमा छ भने पीएफसी सीएसकेए सोफिया एक अंकका साथ चौथो स्थानमा छ ।

प्रतियोगितामा आठ समूहबाट शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । प्रतियोगिताको समूह ‘जी’ मा रहेको इङ्लिस प्रिमियर लिगको क्लब टोटनहम पनि नेदरल्यान्ड्सको भिटेससँग १–० ले पराजित भयो । घरेलु टोलीभिटेसका लागि म्याक्सिमिलियनले ७८औं मिनेटमा गरेको गोल निर्णाक बन्यो । पराजित टोटनहम चार अंकका साथ तेस्रो स्थानमा छ । ६ अंक जाडेको भिटेस दोस्रो स्थानमा छ । समूह ‘जी’ मा फ्रान्सको रेनेस सात अंकका साथ शीर्ष स्थानमा छ । रेनेसले गएराति नै सम्पन्न खेलमा स्लोभेनियाको मुरालाई २–१ ले हराएको थियो ।