जेलभित्र मृत्युदण्डको प्रतीक्षा, इरानी महिलाहरूको जीवन बचाइदिन अपिल

 संवाददाता    २०८३, १२ मंसिर शुक्रबार १६:२१     9 जनाले पढ़िसके



Spread the love

इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा २१ वर्षीया युवती तारानेह रहीमीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

उनका आफन्तले जेलमा उनीमाथि चरम यातना दिइएको र कुटपिटका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका छन् ।

तारानेहका काका पर्ने मसुद नूरमोहम्मदीका अनुसार पछिल्ला केही सातादेखि उनी राम्रोसँग हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेकी छन् ।

टाउकोमा लागेको चोटको उपचार नगरिएका कारण कानमा संक्रमण भएको र त्यसले शरीरको सन्तुलन बिगारेको उनको भनाइ छ ।

बीबीसी फारसीसँग कुरा गर्दै नूरमोहम्मदीले तारानेहले आफूलाई सम्हालिरहेको भए पनि केही दिन निकै भावुक भएर रुने गरेको बताए ।

उनका अनुसार गत जनवरीमा देशव्यापी रूपमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएपछि तारानेह र उनकी जुम्ल्याहा बहिनी रोमिनालाई पक्राउ गरिएको थियो ।

अमेरिकाबाट कुराकानी गर्दै नूरमोहम्मदीले दुवै बहिनीकी आमाले जेलमा पहिलोपटक उनीहरूलाई भेट्दा चिन्नसमेत नसकेको बताए ।

कुटपिटका कारण उनीहरूको अनुहार नराम्ररी सुन्निएको थियो भने शरीरमा चोटपटक लागेको थियो । कपालसमेत लुछिएको अवस्थामा आमाले उनीहरूलाई आवाजका आधारमा मात्रै चिनेकी थिइन् ।

उनका अनुसार सोधपुछ गर्ने अधिकारीहरूले तारानेहकै अगाडि उनकी बहिनीमाथि बलात्कार गर्ने धम्की दिएका थिए । त्यसपछि तारानेहले आफूले अपराध गरेको स्वीकार गर्दै कागजमा हस्ताक्षर गरेकी थिइन् ।

इरानका लागि संयुक्त राष्ट्रसंघकी मानवअधिकार विशेष प्रतिवेदक माई सातोका अनुसार तारानेह यस वर्ष जनवरीको प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका ६ महिलामध्ये एक हुन् ।

पुरुषको हकमा मृत्युदण्ड पाउनेको संख्या अझै धेरै छ । एमनेस्टी इन्टरनेसनलकी इरान अनुसन्धानकर्ता राहा बहरिनीले राजनीतिक कारणले दिइने मृत्युदण्डमा भयावह वृद्धि भएको बताएकी छन् ।

उनका अनुसार महिला प्रदर्शनकारी र सरकारका आलोचकहरूलाई समेत ठूलो संख्यामा मृत्युदण्डको सजाय सुनाइएको छ । पछिल्ला केही दशकमा यस्तो वृद्धि देखिएको थिएन ।

यद्यपि, लन्डनस्थित इरानी दूतावासले प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको प्रयोग बढेको भन्ने दाबी भ्रामक भएको जनाएको छ । दूतावासले यातना दिइएको आरोप र शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै कारण मृत्युदण्ड दिइएको भन्ने दाबी अस्वीकार गरेको छ ।

दूतावासका अनुसार प्रदर्शन गर्नु नागरिकको वैध र संरक्षित अधिकार भए पनि जनवरी २०२६ का दंगासँग सम्बन्धित मृत्युदण्डका सजाय जानाजानी हत्या वा ‘मोहारेबेह’ जस्ता अपराधमा संलग्न व्यक्तिलाई सुनाइएको हो । मोहारेबेह भन्नाले मानिसको ज्यान वा सम्पत्तिमा क्षति पुर्‍याउने अथवा आतंक सिर्जना गर्ने उद्देश्यले हतियार उठाउनु भन्ने बुझिन्छ ।

प्रदर्शन सकिएको दुई सातापछि पक्राउ

नूरमोहम्मदीका अनुसार जुम्ल्याहा दिदीबहिनीलाई जनवरीको अन्तिमतिर पक्राउ गरिएको थियो । त्यसबेला इरानमा आर्थिक समस्याविरुद्ध सुरु भएका प्रदर्शन समाप्त भएको करिब दुई साता भइसकेको थियो ।

डिसेम्बरको अन्त्यतिर आर्थिक कठिनाइको विरोधमा सुरु भएका ती प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानको धार्मिक सत्ताविरुद्ध भएका सबैभन्दा ठूला प्रदर्शन बनेका थिए ।

अमेरिकामा रहेको मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ (एचआरएएनए)ले प्रदर्शनपछि भएको सरकारी दमनमा मारिएका सात हजारभन्दा बढी व्यक्तिको पहिचान गरेको जनाएको छ ।

तीमध्ये अधिकांश प्रदर्शनकारी रहेको संस्थाको भनाइ छ । यद्यपि, वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने उसको अनुमान छ ।

इरानी सरकारले भने देशमा अशान्ति फैलाउन अमेरिका र इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ । उसले प्रदर्शनका क्रममा भएका मृत्युका लागि आतंकवादी र दंगाकारीलाई दोषी ठहर गरेको छ ।

सरकारी विवरणअनुसार प्रदर्शनका क्रममा तीन हजार ११७ जनाको मृत्यु भएको थियो । मृतकमा सुरक्षा बलका केही सदस्यसमेत थिए ।

जुम्ल्याहा दिदीबहिनीका आफन्तका अनुसार पक्राउ परेको तीन महिनाभन्दा बढी समयसम्म परिवारलाई उनीहरू कहाँ राखिएका छन् भन्ने जानकारीसमेत दिइएको थिएन ।

उनीहरूमाथि इस्फहानमा भएको प्रदर्शनसँग सम्बन्धित मुद्दामा सुनुवाइ गरिएको थियो । प्रदर्शनका क्रममा उक्त सहरको एउटा क्षेत्रमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का एक सुरक्षाकर्मी मारिएका थिए ।

अदालतका कागजात सार्वजनिक नगरिए पनि बीबीसीले तारानेहलाई सुनाइएको सजायसम्बन्धी दस्तावेजको एउटा अंश हेरेको जनाएको छ । त्यसमा उनलाई इरानको इस्लामिक दण्ड संहिताअन्तर्गत मृत्युदण्ड हुन सक्ने ‘मोहारेबेह’ अपराधमा दोषी ठहर गरिएको उल्लेख छ ।

दस्तावेजअनुसार मानिसको ज्यान जोखिममा पार्ने उद्देश्यले धारिलो हतियार निकाल्नु पनि उक्त अपराधअन्तर्गत समेटिएको छ ।

संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक सातोका अनुसार रोमिनालाई भने मोहारेबेह अपराधमा सहयोग गरेको र उक्साएको कम गम्भीर आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।

नूरमोहम्मदीका अनुसार दुवै बहिनीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । तारानेहसँग कुनै धारिलो हतियार रहेको प्रमाणसमेत नभएको उनको दाबी छ ।

सातोका अनुसार यी दिदीबहिनीसहित १० जनालाई मृत्युदण्डको सजाय सुनाइएको एउटै मुद्दामा समेटिएको थियो । तर, प्रत्येक व्यक्तिले के अपराध गरेका थिए भन्नेबारे स्पष्ट जानकारी दिइएको थिएन ।

दिदीबहिनीका वकिलहरूले सोधपुछका क्रममा आफ्ना पक्षका व्यक्तिमाथि यातना र यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएका छन् । तर, उनीहरूले यातनाको आरोप लगाएका अधिकारीले नै त्यससम्बन्धी अनुसन्धानको निगरानी गरिरहेको बताइएको छ ।

मृत्युदण्डको प्रतीक्षामा रहेका अन्य महिला

इरानमा मृत्युदण्डको सजाय सुनाइएका अन्य महिलाका आवाज सन्देशमा निराशा र प्रतिरोध दुवै झल्किने गरेका छन् ।

मानवअधिकारवादी संस्थाहरूका अनुसार महबुबेह शाबानीलाई गत सेप्टेम्बरमा इरानको जासुसीसम्बन्धी कानुनअन्तर्गत मृत्युदण्डको सजाय सुनाइएको थियो । घाइते प्रदर्शनकारीलाई ओसारपसार गरेको आरोप उनीमाथि लगाइएको थियो ।

३३ वर्षकी बताइने शाबानी पेसाले सिभिल इन्जिनियर हुन् । उनले उत्तरपूर्वी इरानको मशहद सहरस्थित जेलबाट आफू र अन्य कैदीका लागि सहयोगको अपिल गरेकी छन् ।

उनले एक सन्देशमा भनेकी छन्, ‘सबैजना मानसिक रूपमा निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । विशेषगरी मृत्युदण्डको सजाय निश्चित भइसकेका व्यक्तिहरूको अवस्था झन् खराब छ ।’

त्यस्तै, २३ वर्षीया नज्मेह अमिनी पनि मशहदकै जेलमा रहेको मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् । उनलाई सुरुमा जनवरीको प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । पछि सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमार्फत धर्मनिन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको बताइएको छ ।

उनको नामबाट सार्वजनिक गरिएको आवाज सन्देशमा भनिएको छ, ‘म जीवित रहुन्जेल मेरो एउटै आशा छ । त्यो भनेको फाँसीको फन्दामा मेरो जीवन समाप्त हुनुअघि स्वतन्त्र र समृद्ध इरान देख्नु हो ।’

यसैगरी, २७ वर्षीया मोज्देह हाशेमी बजारगानी पनि मृत्युदण्डको जोखिममा रहेको मानवअधिकारवादी संस्थाहरूले बताएका छन् ।

इरान, इजरायल र अमेरिकाबीच जारी युद्धका क्रममा गत अप्रिलमा पक्राउ परेकी उनलाई जासुसीलगायत विभिन्न आरोपमा दोषी ठहर गरिएको बताइएको छ ।

अमेरिकामा रहेको इरानी मानवअधिकारवादी संस्था ‘तवाना’ले जेलबाट गरिएको भनिएको उनको एउटा टेलिफोन कुराकानीको अडियो सार्वजनिक गरेको छ । उक्त अडियोमा उनले आफ्नो टाउको, घाँटी र शरीरमा कुटपिट गरिएको तथा जबर्जस्ती अपराध स्वीकार गरेको कागजमा हस्ताक्षर गराइएको बताएकी छन् ।

अडियोमा उनले भनेकी छन्, ‘उनीहरूले ममाथि जासुसीको आरोप लगाए । यसका लागि पैसा पाएको बताउँछन् । यदि मैले जासुसी गरेर पैसा पाएकी भए मसँग गाडी वा घर हुन्थ्यो होला । तर, मसँग केही पनि छैन ।’

एमनेस्टी इन्टरनेसनलले यी तीन महिलाका मुद्दा र जुम्ल्याहा दिदीबहिनीको मुद्दालाई राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएको छ ।

यस विषयमा बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै लन्डनस्थित इरानी दूतावासले यातना दिइएको भन्ने सबै आरोप पूर्ण रूपमा अस्वीकार गरेको छ ।

दूतावासले छुट्टाछुट्टै मुद्दाबारे थप टिप्पणी नगरे पनि दबाबमा गराइएको स्वीकारोक्तिको कानुनी मान्यता नहुने बताएको छ ।

मृत्युदण्ड पाउने महिलाको संख्या बढ्दै

संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक सातोका अनुसार जनवरीको प्रदर्शनसँग सम्बन्धित मुद्दामा अहिलेसम्म कम्तीमा ३९ जनालाई फाँसी दिइसकिएको छ ।

उनले पुरुष र महिला दुवैको गिरफ्तारी तथा सजायमा तीव्र वृद्धि भएको बताएकी छन् ।

परिवारको एउटै आशाः दिदीबहिनीलाई बचाउने

नूरमोहम्मदीका अनुसार परिवारले दुवै दिदीबहिनीलाई बचाउन सकिने सबै उपाय अपनाइरहेको छ ।

उनका अनुसार रोमिनालाई संगीत मन पर्छ । उनी प्रायः आफन्तलाई फोन गरेर गीत बजाउन आग्रह गर्छिन् ।

तारानेहलाई भने घोडा निकै मन पर्छ । उनी भविष्यमा घोडा प्रजनन केन्द्र स्थापना गर्न चाहन्थिन् ।

नूरमोहम्मदीले आफूहरूले भविष्यमा उनको त्यो सपना पूरा गर्न सहयोग गर्ने वाचा गरेर आशा जगाउने प्रयास गरिरहेको बताए ।

‘यसरी नै हामी उनलाई आशा दिने प्रयास गरिरहेका छौँ,’ उनले भने ।