एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिलसमक्ष उपस्थित गराइँदै

 संवाददाता    २०८३, १२ मंसिर शुक्रबार १३:३३     18 जनाले पढ़िसके



Spread the love

मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको बताएको थियो । पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।

त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

अर्यालयमाथि के हो आरोप ?

सीआईबीले ठगी तथा संगठित अपराध कसूरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव रहेका अर्याललाई पक्राउ गरिएको जनाएको छ ।

एसएसपी अनुपम शमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा अर्याल पक्राउ परेका हुन् । नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

मलेसिया सरकार र नेपाल सरकारबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको अमेरिकी डलर ८३ लाख ७० हजार ४३९.९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८०.८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम अवैध रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्यालको प्रत्यक्ष संलग्नता रहेको सीआईबीको दाबी छ ।

अर्यालले सम्झौताको दायरा र कानुनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकूल (मुद्रा सञ्चितीकरणमा नोक्सानी) हुने निर्णय गरेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

संगठित समूहको लाभका लागि जानीजानी पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन रही कानुनी उपचार नगरी/नगराई संकलित रकम मलेसिया पठाउने निर्णय गर्ने तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा समेत उनी संलग्न रहेको सीआईबीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट गत मंसिर २ गते उनीविरुद्ध पक्राउ अनुमति लिइसकिएको थियो ।

यसै प्रकरणमा सीआईबीले २ पूर्वमन्त्रीसहित केहीलाई पक्राउ गरिसकेको छ ।