नेपाल प्रहरीको उच्च तहमा आन्तरिक किचलो बढेकै बेला ५ जना अतिरिक्त महानिरीक्षक भने अनिवार्य अवकाशमा जाने भएका छन्। प्रहरी किताबखानाले उपत्यका प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसहित ५ एआईजीलाई केही दिनमै अवकाशको पत्र बुझाउने भएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकै ब्याची समेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीबिच आन्तरिक बैठकमै खटपट परेको छ। प्रहरी प्रमुख कार्कीलाई विवादमा तान्न केही एआईजीले चलखेल गरेको आरोप छ। संगठन भित्रैबाट असहयोग भएको भन्दै कार्कीले गत बिहीबार नीति समन्वय समिति (पीसीसी) बैठकमा असन्तुष्टि पोखेका थिए।
बैठकमा एआईजी मनोज केसी र आईजीपी दानबहादुर कार्कीबिच चर्काचर्की परेको थियो। बैठकमा अन्य एआईजीले भने व्यक्तिले गरेको गलत कामको भागिदार स्वयं हुने भन्दै संगठनलाई नै बदनाम गर्नेगरी नेतृत्वविरुद्ध लाग्न नहुने तर्क गरेका थिए।
केसीले भने आईजीपीविरुद्ध भइरहेका गतिविधिबारे आफूलाई शंका गरिएको भन्दै असन्तुष्टि पोखेको बैठकमा सहभागी एक डीआईजीले जानकारी दिए। प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आईजीपीले पनि संवाद गरेको म्यासेज फेला परेका छन्। तर ती म्यासेजमा कुनै मुद्दा–मामिलाका कुराकानी छैनन्। सामान्य विषयमा मात्रै उनीहरूबिच कुराकानी भएका छन्। यही विषयलाई लिएर आफूलाई विवादमा तान्ने प्रयास भएको भन्दै आईजीपीले असन्तुष्टि जनाएका हुन्।
उक्त बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजी र उपत्यकाभित्रका एसएसपीमाथिका सबै प्रहरी अधिकारीहरूलाई बोलाइएको थियो।
बैठकमा अधिकांश प्रहरीहरू आईजीपी कार्की र नेतृत्वको पक्षमा बोलेका थिए। केसीसहित दुई डीआईजीले भने आईजीपीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। प्रहरीका उच्च अधिकारीहरूले एकअर्काविरुद्ध गरेका गतिविधि सार्वजनिक भइरहेका छन्।
केसीले आईजीपी र अर्का एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग गरेको अडिओ संवाद सार्वजनिक गरेको आरोप छ। तर उक्त अडिओको आधिकारिकता परीक्षण भने भइसकेको छैन।
पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले भने संगठनमा पहिल्यैदेखि नेतृत्वविरुद्ध दोस्रो वरीयताका प्रहरी अधिकारी लाग्ने गरेको बताए।
‘नेपाल प्रहरीमा यस्तो पहिल्यैबाट हुने गरेको हो। अहिले मनोज केसीले मात्रै गरेको होइन। अरु प्रहरी अधिकारीहरूले पनि यही बेला मौका छोपेका हुन्छन्। प्रहरी भित्रबाट भन्दा पनि बाहिरबाट भइरहेको चलखेल झन् डरलाग्दो छ। सत्ताले प्रहरीलाई दुरूपयोग गर्न नेतृत्वलाई दबाबमा राख्न यस्तो भइरहेको देखिन्छ,’ पूर्वडीआईजी मल्लले भने।
नेतृत्वलाई बदनाम गराउन संगठन भित्रैबाट चलखेल बढेको भन्दै गत बिहीबार बसेको पीसीसी बैठकमा प्रहरी महानिरीक्षक कार्कीले असन्तुष्टि पोखेका थिए। केही एआईजीले भने त्यस्ता अधिकारीलाई कारबाही गर्न भनेका थिए।
उनको असन्तुष्टिपछि अपराध अनुसन्धान विभागका प्रमुख समेत रहेका एआईजी मनोजकुमार केसीले प्रतिवाद गरेका थिए। कार्कीलाई हटाएर आफू आईजीपी बन्न केसीले चलखेल गरेको आरोप छ। आफूमाथिको आरोपको केसीले उक्त बैठकमा खण्डन गरेका थिए।
आईजीपी कार्की र एआईजी केसी एउटै ब्याचका हुन्। अर्का एआईजी राजन अधिकारी र ईश्वर कार्की पनि उनीहरूकै ब्याचका हुन्। पहिलो वरीयताका एआईजी राजन अधिकारी भए पनि उनलाई समेत बिचौलिया इनम सापकोटासँग संवाद गरेकै कारण विवादित बनाउन खोजिएको छ।
बिचौलिया सापकोटाले व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सेटिङ गरेको आरोप छ। सोही आरोपमा भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक पुर्याइएको छ। भट्टलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो। त्यतिबेला सीआईबीको प्रमुख मनोज केसी थिए।
त्यहाँबाट केसीलाई यही सरकारले अपराध अनुसन्धान विभागमा सरुवा गरेको थियो। अधिकारी हाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र कार्की मानवस्रोत विभागमा छन्।
एकसाथ अवकाश हुँदै ५ एआईजी र ३ डीआईजी
प्रहरीको नेतृत्व तहमा आन्तरिक किचलो बढिरहेकै बेला ५ जना अतिरिक्त महानिरीक्षक एआईजी भने अनिवार्य अवकाश हुने भएका छन्। २०५३ पुस ५ गते भर्ना भएको टोलीका प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्।
उनीहरूलाई यसअघि नै उक्त मितिमा अवकाश हुने जानकारी गराइसकिएको छ। प्रहरी किताबखानाले अवकाशको एक महिनापहिले नै अवकाश हुने पत्र समेत बुझाउने छ। अबको केही दिनमै उनीहरूले अवकाशको पत्र बुझ्नेछन्।
अवकाश हुने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्। शाह प्रदेश समन्वय विभागमा कार्यरत छन्। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख राठौर र सीआईबी प्रमुख चतुरवेदी पनि अवकाश हुने भएका छन्।
कार्यविभागका प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक पनि अवकाशको मुखमा छन्। नेपाल प्रहरीमा प्राविधिक १ बाहेक ८ एआईजीको दरबन्दी छ। तीमध्ये पुस ५ गतेबाट ३ जना मात्रै रहनेछन्।
उनीहरूसँगै तीन डीआईजी पनि अवकाश हुने भएका छन्। सोही ब्याचमा भर्ना भएका ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अवकाश हुने भएका हुन्। उनीहरू अवकाशतिर लाग्दा २०५४ का ब्याचीहरू भने एकअर्काविरुद्ध लागेका छन्। यो टोली अझै १७ महिना (२०५४ चैतसम्म) प्रहरी सेवामा रहनेछ।