सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकप्टर ठोकिँदा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
दुर्घटनामा घाइते भएका भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेललाई मेडिसिटी अस्पताल ल्याइएको हो।
यस्तै अर्का घाइते फिस्टेल हेलिकप्टरका पाइलटलाई पनि सोही अस्पताल ल्याइएको छ।
उनी सामान्य घाइते छन् भने तत्काल परिचय खुलिसकेको छैन।
घाइतेका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने नेपाल मेडिसिटी अस्पतालले जनाएको छ।
सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेस्थित हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा दुई हेलिकप्टरका पंखा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको छ।