बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा भारी वर्षा तथा हिमपातका कारण शनिबारदेखि सम्पर्कविहीन भएका कञ्चनपुरका युवक मृत भेटिएका छन्।
बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन्।
उनको खोजीमा सदरमुकाम मार्तडीबाट हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली खटिएको थियो। खोजीका क्रममा उनी बडीमालिकास्थित त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन्।
उनको शव अहिले त्रिवेणी पाटनस्थित धर्मशालामा पुर्याइएको छ। शव हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।
उनीसँगै बडीमालिकाबाट फर्किरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्की पनि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका थिए।
उनलाई हेलिकप्टरमार्फत शनिबार दिउँसो मार्तडी ल्याइसकिएको छ।