देशभर तीन दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम विभागको भनाइ

 संवाददाता    २०८३, २६ आश्विन सोमबार ११:०८     22 जनाले पढ़िसके



Spread the love

आज (सोमबार) देखि तीन दिन (बुधबार) सम्म देशभर कतै पनि ठुलो वर्षाको सम्भावना नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आजसमेत ३ दिन देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा त्यो पनि हल्का वर्षा मात्र हुने सम्भावना देखिएको छ। तराईमा त कतै पनि पानी पर्ने सम्भवना छैन।

‘आज देशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा अर्थात् १० प्रतिशत भूभागमा मात्रै हल्का किसिमको वर्षा हुने सम्भावना देखिएको छ। ९० प्रतिशत भूभागमा वर्षाको सम्भावना देखिँदैन। तराईमा भने कतै पनि पानी पर्ने सम्भावना देखिएको छैन। यस्तै आज रातिका लागि देशभर कतै पनि वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् ढकालले सोमबार बिहान भिडिओ ब्रिफिङ जारी गर्दै भनेका छन्, ‘यसैगरी भोलि र पर्सि पनि देशका हिमाली र पहाडी भूभागका १० प्रतिशत हिस्सामा मात्र वर्षाको सम्भावना देखिएको छ। बाँकी भूभागमा पानी पर्ने सम्भावना देखिएको छैन। लगातार र धेरै वर्षाको सम्भावना कतै छैन। क्षणिक रूपमा हल्का वर्षाको सम्भावना विशेषगरी हिमाली र पहाडी क्षेत्रको दश प्रतिशत भूभागमा देखिएको छ।’

उनका अनुसार बितेका २४ घण्टामा पनि खासै वर्षा भएको छैन। सिन्धुपाल्चोक र आसपास तथा प्युठान, रोल्पा र यी जिल्ला आसपास मध्यमसम्म वर्षा भएको छ। यी जिल्लाका पनि एक-दुई स्थानमा मात्रै मध्यम वर्षा रेकर्ड भएको छ। बाँकी स्थानमा हल्का मात्र वर्षा भएको छ। कोसी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मात्रै हल्का वर्षा भएको देखिन्छ भने तराईमा कतै पनि वर्षा भएको देखिँदैन।

भिडिओ-