नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १५ औँ महाधिवेशनबाट पार्टीभित्र रहेको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
महाधिवेशनले तय गरेको नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन नै अबको मूल दायित्व हुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘पार्टीलाई वर्षौँदेखि जकडेको अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबन्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ नवीन र बदलिएको कांग्रेस निर्माण गर्नु नै विशेष महाधिवेशनको मूल मर्म थियो । यो १५ औँ महाधिवेशनले यस लक्ष्यलाई पूर्ण रूपमा सार्थक र सफल बनाउनेछ भन्ने मेरो भरोसा छ।’
नेतृत्व चयनका क्रममा निष्ठावान् कार्यकर्ताको निरन्तर योगदान, जनप्रियता, उच्च योग्यता, साङ्गठनिक प्रतिबद्धता र युवा सहभागितालाई मुख्य आधार बनाएर सर्वसम्मतिको अधिकतम प्रयास गर्नुपर्ने उनको भनाइ छ। यदि सम्भव नभएमा स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई सहर्ष आत्मसात् सबैले गर्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन। लोकतन्त्रको वास्तविक सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले यो प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त बनाइनुपर्छ।’
उनले यो महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको प्रस्ट पारेका छन्।
केसीले थपेका छन्, ‘यो निर्णय कुनै असन्तुष्टि, निराशा वा अडानका कारण लिइएको होइन। म पूर्ववत् उत्साह र ऊर्जाका साथ तपाईँहरूसँगै निरन्तर क्रियाशील रहनेछु। मेरो अबको सम्पूर्ण ध्यान र प्रयास व्यक्तिगत पद प्राप्तिमा होइन, पार्टीको अभेद्य एकता र संस्थागत सुदृढीकरण र समग्र राष्ट्रिय एकता को प्रयासमा समर्पित हुनेछ।’
प्राविधिक वा सर्तसहितको एकता नभई सैद्धान्तिक, वैचारिक र भावनात्मक एकताले मात्रै समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताको मार्गप्रशस्त गर्ने उनको भनाइ छ।