सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताए।
नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिनेसमेत स्पष्ट पारे।
सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे।
सभामुख अर्यालले विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। चीन सरकारले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोली तथा ड्रोनलगायतका उपकरण उपलब्ध गराएको थियो।
सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।