फुनाफुतिमा परराष्ट्रमन्त्रीको स्वागत, प्रि–कोप लिडर्स इभेन्टमा सहभागिता

 संवाददाता    २०८३, २० आश्विन मंगलवार १२:३५     18 जनाले पढ़िसके



Spread the love

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप-३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन् ।

विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँगै सहभागी भएका मन्त्री खनालले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा प्राथमिकताका विषयमा नेपालको धारणा राखे ।

कार्यक्रमका विभिन्न औपचारिक सत्रमा सहभागिता जनाउँदै उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रभावित मुलुकहरूको साझा सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

टुभालुका प्रधानमन्त्री फेलेटी तेओसँग भएको भेटवार्तामा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यताप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

भेटमा उनले हिमाली क्षेत्र तथा प्रशान्त महासागरका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका जोखिम र चुनौतीहरूमा समानता रहेको बताए । दुवै पक्षबीच जलवायुका क्षेत्रमा सहकार्य थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।

फुनाफुतीस्थित टुभालु `कोस्टल एडाप्टेसन प्रोजेक्ट´को स्थलगत अवलोकनका क्रममा परराष्ट्रमन्त्री खनालले टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआसँग भेटवार्ता गरेका थिए । सो अवसरमा दुवै नेताबीच उच्च हिमाली पारिस्थितिकीय प्रणाली तथा तल्लो तटीय टापु राष्ट्रहरूले जलवायु परिवर्तनबाट सामना गरिरहेका जोखिमहरूबीचको अन्तरसम्बन्धका विषयमा विचारविमर्श भएको थियो ।

भेटमा जलवायु वित्त, जलवायु अनुकूलन तथा हानि-नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पर्वतीय तथा साना टापु राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाजलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइयो ।

परराष्ट्रमन्त्री खनालले मोरिससका राष्ट्रपति धरमवीर गोखुल तथा प्रथम महिला बृन्दा गोखुलसँग पनि सौहार्दपूर्ण भेटवार्ता गरेका छन् । भेटका क्रममा मन्त्री खनालले परराष्ट्रमन्त्रीका रूपमा आफ्नो पहिलो विदेश भ्रमणका क्रममा मोरिसस भ्रमण गरेको सुखद स्मरण गरे । उनले नेपाल र मरिससबिच विद्यमान मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धका विविध पक्षको चर्चा गरेका थिए ।

आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन तथा जलवायु कार्यका विषयमा नेपाल र मोरिससबिचको सहकार्यलाई अझ सुदृढ गर्दै लैजाने विषयमा समेत छलफल भएको थियो ।

स्थलगत अवलोकनका क्रममा नेपाली प्रतिनिधिमण्डलले समुद्री सतह वृद्धि तथा तीव्र सामुद्रिक छालका प्रभाव न्यूनीकरणका लागि टुभालुले अवलम्बन गरेका तटीय इन्जिनियरिङ तथा जलवायु अनुकूलनसम्बन्धी उपायहरूको प्रत्यक्ष जानकारी लिएको थियो । सो अवसरमा मन्त्री खनालले हिमालय क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने तथा हिमक्षयको समस्या र समुद्री सतह वृद्धिबीचको अन्तरसम्बन्धतर्फ ध्यानाकर्षण गराएका थिए ।

उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न अन्तर्राष्ट्रिय समुदायले जलवायु वित्तसम्बन्धी आफ्ना प्रतिबद्धताहरू समयमै, पर्याप्त र न्यायोचित रूपमा पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखापरिरहेका प्रतिकूल प्रभाव तथा प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले सामना गरिरहेका समुद्री सतह वृद्धि, तटीय क्षयलगायतका चुनौतीलाई साझा जलवायु सरोकारका रूपमा प्रस्तुत गर्दै आएको छ ।