पशुपतिनाथ प्रवेश गरेको आरोपमा इटहरीका दम्पती प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, २१ आश्विन बुधबार ११:४९     66 जनाले पढ़िसके



Spread the love

पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ ।

पशुपति मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रेम विवाह गरेका ओसीम-प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडिओ बनाएका थिए ।

उनीहरुले बनाएको भिडिओमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । सांसदले नै प्रश्न उठाएपछि कोषले उनीहरुविरुद्ध जाहेरी दिएको हो । घर आएका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको छ ।

अन्सारी दम्पतीले हिजै एक भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरभित्र पस्न नपाएको बताएका थिए । मन्दिरको मूल ढोकाबाट भित्र छिरे तापनि आफूहरूलाई भर्‍याङबाट फर्काइएको उनीहरुको भनाइ छ । प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि देखाउन लगेको उल्लेख गरेकी छन् ।

अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी-८ कै स्थायी बासिन्दा हुन् ।