बाढी प्रभावितको दशैँअघि नै सुरक्षित पुनर्स्थापना हुन्छ : मन्त्री लम्साल

 संवाददाता    २०८३, २० आश्विन मंगलवार १५:५०     10 जनाले पढ़िसके



Spread the love

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँअघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरी काम भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दशैँअघि नै सुरक्षित ठाउँमा पुनस्थापित गरी चाडपर्वको माहोल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको बताए ।

स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत दिइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराइने लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालले बेली ब्रिजहरू स्टकमा उपलब्ध रहे पनि त्रिशूली नदीमा हाल्नका लागि कम्तीमा १०० देखि १२२ मिटरसम्म लामो बेली ब्रिज आवश्यक पर्ने तर त्यो लम्बाइको ब्रिज उपलब्ध नभएको बताएका छन् । विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीहरूसँग सहकार्य गर्दा पनि हवाई मार्गबाट तुरुन्तै ल्याउन सकिने गरी स्टक नभेटिएकाले पछि अर्डर दिइएको उनको भनाइ छ ।

पुरानै ठाउँमा राजमार्ग नबनाइने, नयाँ अलाइनमेन्ट सुरक्षित हुने गरी फरक डिजाइन तयार गरिने लम्सालले बताए ।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले रसुवा बाढीका कारण २ खर्ब २७ अर्ब रूपैयाको क्षति भएको जानकारी गराए । क्षति पुगेका २० वटा झोलुङ्गे पुलहरू मध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा मर्मतको प्रक्रियामा रहेको र नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड खुला गरी यातायात सञ्चालनमा ल्याइएको छ ।

मैनालीले नुवाकोट र रसुवालाई जोड्न बेत्रावतीमा बेली ब्रिज राख्ने काम भइरहेकाले आगामी सोमबारसम्ममा सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य राखिएको सचिव मैनालीले जानकारी दिए ।

त्यस्तै रसुवागढी सडकका बिभिन्न स्थानमा ४-५ वटा बेली ब्रिजहरू निर्माण गर्नुपर्ने भएकाले दशैँ अगाडि सडकखण्ड जोडिन सम्भव नरहेको बताउनुभयो । बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो बाटो छाडेर वैकल्पिक मार्गबाट कनेक्टिभिटी अघि बढाउने काम भइरहेको उनको भनाइ छ ।