कांग्रेसमा प्रवासी नेताहरूको सक्रियता, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

 संवाददाता    २०८३, १८ आश्विन आईतवार १३:२३     11 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसमा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने बाटो खोलेपछि प्रवासमा रहेका कांग्रेस नेताहरूबीच केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा तीव्र देखिएको छ।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार जनसम्पर्क समितिले पाउने ६ सदस्यको कोटामा विश्वका पाँच महादेशबाट एक/एक जना र बाँकी एक जना महिलाका लागि व्यवस्था गरिएको हाे। भारतबाट एक, एसियाबाट एक, युरोपबाट एक, मध्यपूर्वबाट एक, अमेरिका–क्यानडा–अस्ट्रेलियालगायत क्षेत्रबाट एक तथा महिलाबाट एक जना चयन हुने व्यवस्था छ।

भारतबाट नेपाली जनसम्पर्क समितिका पूर्वसभापति तथा कांग्रेसका आमन्त्रित पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पाण्डे केन्द्रीय सदस्यकाे उम्मेदवारी दिने तयारीमा छन्। युरोपबाट बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिकी पूर्वसभापति सीता सापकोटाले उम्मेदवारी घोषणा गरिसकेकी छन्।

अमेरिका क्षेत्रबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)की पूर्वकेन्द्रीय अध्यक्ष रविना थापा पनि आकांक्षीका रूपमा देखिएकी छन्।

एसिया क्षेत्रबाट जापानस्थित नेपाली जनसम्पर्क समितिका नारायण सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै मलेसियाबाट जनसम्पर्क समितिका संरक्षक तथा पूर्वउपसभापति विनोद थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। मलेसियाका व्यवसायी तथा एनआरएनए मलेसियाका पूर्वअध्यक्ष थापा प्रवासमा कांग्रेस संगठन विस्तारमा सक्रिय रहँदै आएका छन्।

दक्षिण कोरियाबाट जनसम्पर्क समितिका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटीले पनि एसिया क्षेत्रबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यस्तै कतारबाट राज रेग्मी र विमल सुवेदीले केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई)बाट खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् भने बहराइनबाट पदमसुन्दर गुरुङले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए। यता आयरल्यान्डस्थित जनसम्पर्क समितिका पूर्वसभापति अंकित ओलीले उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका ओली सन् २०१७ देखि आयरल्यान्डमा रहँदै आएका छन्।

जर्मनीबाट टंक लम्साल र विजय मोक्तान केन्द्रीय सदस्यका आकांक्षी छन् । बेलायतबाट जनसम्पर्क समितिमा आबद्ध विश्व आदर्श पण्डित पनि उम्मेदवारकाे तयारीमा छन् भने नेदरल्यान्ड्सबाट शालिक गौतम र स्पेनबाट इन्द्र शर्मा अधिकारीलगायतले पनि केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन्।

विशेषगरी जनसम्पर्क समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने व्यवस्थाका कारण केही देशका इच्छुक नेताहरू पछि हटेका छन्।

संशोधित विधानले जनसम्पर्क समितिको अध्यक्ष बन्न क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ। जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्न पनि क्रियाशील नेपाली नागरिक हुनुका साथै पार्टी सदस्यता अनिवार्य गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या पनि जनसम्पर्क समितिको सदस्यताका आधारमा निर्धारण गरिएको छ। कम्तीमा एक सय सदस्य रहेको देशको समितिबाट सभापतिसहित दुई जना महाधिवेशन प्रतिनिधि बन्न पाउनेछन्।

पाँच सय वा त्यसभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित सात जना र दुई हजार वा त्यसभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित १४ जना प्रतिनिधि चयन हुने व्यवस्था छ।

कांग्रेसका विदेशस्थित जनसम्पर्क समिति ३७ देशमा छन्।