कांग्रेस केन्द्रीय सदस्यमा किरणकिशोर घिमिरेले दिए उम्मेदवारी

 संवाददाता    २०८३, २० आश्विन मंगलवार १२:५९     10 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरेले केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिएका छन्।

दाङ–२ बाट महाधिवेशन प्रतिनिधि रहेका उनले विचार र दृष्टिकोणले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए। उनी २०३६ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय छन्।

‘म उमेरले प्रौढ भए पनि अवसरले युवा छु, विचार र दृष्टिकोणले युवा छु,’ घिमिरे भने, ‘कांग्रेसको केन्द्रीय समितिमा रहेर म आफ्नो विचार र दृष्टिकोणलाई युवाको चेतसँग जोड्न चाहन्छु।’

घिमिरेको पारिवारिक सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित ‘जयतु संस्कृतम्’ आन्दोलनसँग पनि जोडिएको छ। २०३८ सालमा कांग्रेसले तत्कालीन समयमा गरेको निर्वाचन बहिष्कारका क्रममा हिरासतमा पुगेका घिमिरे २०४६ र २०६२÷६३ को जनआन्दोलनपछि सक्रिय राजनीतिमा छन्।

उनी गत प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ बाट कांग्रेस उम्मेदवार बनेका थिए। घिमिरेले कांग्रेसलाई अब उपयोगिताको सिद्धान्तबाट अघि बढाउनुपर्ने बताउँदै देशलाई सफल बनाउन निजी क्षेत्रको सहभागितामा जोड दिनुपर्ने जिकिर गरे।

माग र आवश्यकताअनुसार सम्भावनालाई बोकेर न्याय र निष्ठालाई जोगाउँदै कांग्रेस अघि बढ्दा मुलुकको हित हुने दाबी गर्दै उनले त्यसका लागि दृष्टिकोण दिन आफू कांग्रेसको केन्द्रीय समितिमा आउन चाहेको बताए। वर्तमान कांग्रेसभित्र चार पुस्ता जोडिएको उल्लेख गर्दै उनले चारै पुस्तालाई आफूले पार्टीभित्र रहेर समन्वय गराउने बताए।

उनी विगतमा ट्रेड युनियन राजनीतिमा समेत सक्रिय थिए। उनले श्रमिकहरूको अधिकार संरक्षणका लागि तल्लो तहसम्म पुगेर काम गरेका छन्।