गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिविरुद्ध सरकार कठोर हुने बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको पनि बताएका छन्।
गृह मन्त्रालयले सोमबार मात्रै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो।
सरकारले दाहालका विषयमा जाँचबुझ गर्न सशस्त्र प्रहरीकै मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन। यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।’
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी पनि दिएका छन्।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
