नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवतरण सार्वजनिक भएको हो।
‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट स्रोतले भन्यो।
आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी पार्टीको संसदीय दलको नेता छन्।
संसदीय दलको नेता बनेपछि उनी १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चासो बढेको थियो।
यस्तोमा विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन्।
कांग्रेसमा हाल दुई जना उपसभापतिको व्यवस्था छ।