राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले आफ्नो पार्टीका सांसदहरु नूनको सोझो गर्ने नाममा सत्य बोल्न नहिच्किचाउने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले बोल्दै उनले सरकारका गलत कामकारवाहीको विरोध गर्न रास्वपा सांसदहरु खुला रहेको दाबी गरे ।
आचार्यले महाभारतका भिष्मपितामहको दृष्टान्त दिएर सत्य बोल्न चुक्दा हुनसक्ने भयानक परिणामा औंल्याएका थिए ।
उनले भने, ‘म रास्वपा महामन्त्रीका हैसियतबाट भन्छु, महाभारतमा भिष्मपितामहले झलेको जस्तो नियति र धर्मसंकट नागरिकका पक्षमा बोल्दा हाम्रा कुनै पनि सांसदलाई पर्ने छैन । रास्वपाका कुनै पनि संसदको विवेक सत्ताको बन्धक बन्ने छैन र सत्यको पक्षमा बोल्ने चेतलाई कुनै नूनको सोझोले रोक्ने छैन ।’
रास्वपाले खुल्ला समाज र तथ्यमा आधारित विचारको पक्षपोषण गर्दै आएको उनले बताए ।
सत्तारुढ पार्टीकै संसदले तथ्यमा टेकेर सरकारका कमीकमजोरी औंल्याउने कुरा लोकतन्त्रको सबैभन्दा सुन्दर बिम्ब र संसदीय गरिमाको द्योतक रहेको उनको भनाइ छ ।
‘सत्यका पक्षमा उभिन र यथार्थ उजागर गर्न हाम्रा सबै सांसद खुला हुनुहुन्छ,’ आचार्यले भने ।
तर सत्य बोल्ने भनेको सरकारका नकारात्मक कुरा मात्रै गर्नु नभएको उनको बिचार छ ।