टेकु अस्पतालको आकस्मिक कक्षमा तोडफोड र हातपातको आरोपमा ३ जना पक्राउ

 संवाददाता    २०८३, १६ आश्विन शुक्रबार १६:१७     14 जनाले पढ़िसके



Spread the love

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं, कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन् ।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १:०० बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका उनीहरूले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गालीगलौज, धाकधम्की दिनुका साथै हातपात समेत गरेका थिए । उक्त घटनाको सीसीटीभी फुटेजसमेत सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

घटनाको सूचनालगत्तै प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरूलाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।