अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङले ह्वाइट हाउसमा आयोजित भव्य राजकीय रात्रिभोजमा एकअर्काप्रति मित्रवत् धारणा व्यक्त गरेका छन्
तर, दुई देशबीचका प्रमुख विवादित विषयमा ठोस प्रगति भएको संकेत भने देखिएन ।
सीले एआई मानवको नियन्त्रणमा रहनुपर्ने र अमेरिका तथा चीनले ‘जिम्मेवार ठूला राष्ट्र’ का रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिए । ट्रम्पले भने दुवै देशका लागि ‘सद्भाव, शान्ति र सफलता’ को भविष्यको कामना गरे ।
तर कूटनीतिक शिष्टाचारका बाबजुद दुई देशबीचको तनाव कायमै छ । विशेषगरी ताइवानको विषयमा मतभेद देखिएको छ ।
चीनले आफ्नो भूभाग दाबी गर्दै आएको स्वशासित ताइवानबारे सीले यसै दिन ट्रम्पलाई ‘सही धारणा’ अपनाउन आग्रह गरेका थिए ।
यसैबीच, ट्रम्प प्रशासनले ताइवानका लागि प्रस्तावित ठूलो हतियार प्याकेजलाई रोकिराखेको छ ।
रात्रिभोजमा अर्बपति व्यवसायी, ट्रम्प प्रशासनका अधिकारी तथा अमेरिकी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए ।
उनीहरू ह्वाइट हाउस पुग्दै गर्दा बाहिर भने प्रदर्शनकारीले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।
‘हामीबीच कहिल्यै यति राम्रो सम्बन्ध थिएन’
बिहीबार राति सहभागीहरूलाई सम्बोधन गर्दै ट्रम्पले सीलाई लामो यात्रा गरेर अमेरिका आएकोमा धन्यवाद दिए ।
उनले आफू र सीबीचको सम्बन्ध बलियो रहेको बताउँदै भने, ‘हामीबीच कहिल्यै यति राम्रो सम्बन्ध थिएन ।’
ट्रम्पले अमेरिका–चीन सम्बन्धको लामो इतिहासको प्रशंसा गरे । तर, उनले आफ्नो नयाँ बलरुम निर्माण परियोजनाको प्रसंगसमेत अनौपचारिक रूपमा जोड्दै सी र उनकी पत्नी पेङ लियुआनलाई निर्माणाधीन बलरुममा सबैभन्दा पहिले प्रवेश गर्न निम्तो दिए ।
उनले भने, ‘निर्माणस्थलमा प्रवेश गर्न चाहने जोसुकैका लागि यो सम्मानको कुरा हुनेछ ।’
ट्रम्पले सीलाई अमेरिकाको राष्ट्रिय प्रतीक बाल्ड ईगल (सेतो टाउको भएको चील)को मूर्ति उपहार दिए । उनले उक्त मूर्तिले ‘अमेरिकाको स्वतन्त्र र उडान भर्ने भावना’ प्रतिनिधित्व गर्ने बताए ।
ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्पले मूर्तिको डिजाइनमा समेत सहभागी भएको बताए ।
सीले पनि ट्रम्प र मेलानियाले आफू र आफ्नी पत्नीलाई ‘अत्यन्तै ध्यान र सम्मानका साथ’ स्वागत गरेको भन्दै आफूहरूलाई घरमै रहेको जस्तो महसुस भएको बताए ।
उनले दुई देशका नेताहरूले ‘द्विपक्षीय सम्बन्धमा इतिहास निर्माण गरिरहेको’ दाबी गरे ।
सीका अनुसार दुवै पक्ष ‘रणनीतिक स्थायित्वमा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध’ निर्माण गर्न सहमत भएका छन् । उनले दुई नेताबीच ‘इमानदार र गहिरो छलफल’ भएको र यसले दुई देशबीचको सम्बन्ध बलियो बनाउने बताए ।
ठूला राष्ट्रबीच सहअस्तित्वको नयाँ बाटो खोज्नुपर्ने
सीले आफ्नो सम्बोधनमा अमेरिका र चीनबीचको सांस्कृतिक सम्बन्ध तथा साझा इतिहासको पनि चर्चा गरे ।
दोस्रो विश्वयुद्धमा जापानविरुद्ध लडाइँका क्रममा अमेरिका र चीनबीचको सम्बन्ध ‘रगत र आगोबाट बनेको’ बताए । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालमा भएको ‘पिङ–पोङ कूटनीति’मार्फत सम्बन्ध थप अघि बढेको उनको भनाइ थियो ।
सीले अमेरिका र चीनका लक्ष्यहरू ‘एकअर्कालाई बलियो बनाउने’ खालका हुन सक्ने भन्दै दुवै पक्षले ‘ठूला राष्ट्रहरूबीच सहअस्तित्वको नयाँ बाटो’ खोज्नुपर्ने बताए ।
को–को थिए सहभागी ?

ह्वाइट हाउसले ट्रम्प प्रशासनका अधिकारीसँगै कन्जरभेटिभ सञ्चारकर्मी, प्रविधि उद्योगका प्रमुख, सामाजिक सञ्जाल कम्पनीका प्रमुख तथा अन्य ठूला व्यवसायीलाई रात्रिभोजमा आमन्त्रण गरेको थियो ।

ट्रम्पका सन्तान इभान्का, एरिक र टिफानी पनि सहभागी थिए ।
प्रविधि क्षेत्रबाट एप्पलका टिम कुक, ओपनएआईका साम अल्टम्यान, गुगलका सुन्दर पिचाई, अमेजनका जेफ बेजोस र एनभिडियाका जेन्सेन हुआङ सहभागी थिए ।

कुक र हुआङ ट्रम्प तथा सीसँगै एउटै टेबलमा बसेका थिए । टेस्ला र एक्सएआईका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पनि सहभागी थिए । मस्कले यसअघि ट्रम्प प्रशासनमा रहेर सरकारी संयन्त्रको आकार घटाउने प्रयासको नेतृत्व गरेका थिए ।
जनरल मोटर्स, भिसा, प्यारामाउन्ट स्काइडान्स र एक्सनमोबिल लगायतका कम्पनीका प्रमुखहरू पनि रात्रिभोजमा उपस्थित थिए ।
सामाजिक सञ्जाल व्यवसायी मार्क जुकरबर्ग तथा टिकटकमा हिस्सेदारी रहेका अमेरिकी अर्बपति जेफ यास पनि सहभागी थिए ।
कार्यक्रमअघि ट्रम्पले भनेका थिए, ‘सबैजना यहाँ हुन चाहन्थे।’ कार्यक्रममा सम्पूर्ण प्रविधि क्षेत्र, सम्पूर्ण बैंकिङ क्षेत्र र अन्य धेरै क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।
एन्थ्रोपिक भने अनुपस्थित
तर विश्वका ठूला र मूल्यवान् एआई कम्पनीमध्ये एक एन्थ्रोपिक भने कार्यक्रममा सहभागी थिएन ।
रात्रिभोजको व्यवस्थापन प्रथम महिला मेलानिया ट्रम्पको कार्यालयले गरेको थियो । कार्यालयका अनुसार खानाको मेनुमा ‘हल्का चिनियाँ प्रभावसहितका अमेरिकी सामग्री’ प्रयोग गरिएको थियो ।
पहिलो परिकारमा पहेँलो स्क्वास, जंगली च्याउ र कुरकुरे प्यान्सेटा दिइएको थियो । पाहुनाले रातो टेबलक्लोथमा खाना खाएका थिए । चीनमा रातो रङलाई भाग्य र सौभाग्यको प्रतीक मानिन्छ ।
मुख्य परिकारमा तिलको छोप लगाइएको समुद्री माछा, पकाइएको बोक चोय र फ्राई गरिएको भेन्टा थियो ।
डेजर्टमा भेनिला क्रिमयुक्त परिकार, अमिलो चेरीको मिश्रण र ह्वाइट हाउसमा संकलन गरिएको महबाट बनाइएको आइसक्रिम समावेश थियो ।
प्रथम महिला मेलानियाले रोजेको मदिरामध्ये श्र्याम्सबर्ग ब्लाँ द नोआर पनि थियो । यो सन् १९७२ मा तत्कालीन राष्ट्रपति निक्सनले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईसँग गरेको ‘टोस्ट टु पिस’सँग जोडिएको थियो । त्यतिबेला पनि सोही मदिरा उत्पादकको बोतल प्रयोग गरिएको थियो ।
यस्तो छ शुक्रबारको कार्यक्रम
ट्रम्प र सीले शुक्रबार आफ्ना पत्नीहरूसहित ह्वाइट हाउसको रेड रुममा चिया पिएर दिनको सुरुआत गर्ने कार्यक्रम छ ।
त्यसपछि उनीहरू अमेरिकी नेसनल आर्काइभ्स जानेछन्, जहाँ भवन र त्यहाँ रहेका ऐतिहासिक सामग्रीको अवलोकन गर्नेछन् ।
नेसनल आर्काइभ्समा अमेरिकी संविधान, स्वतन्त्रताको घोषणापत्र र बिल अफ राइट्स लगायत अमेरिकाको स्थापनासँग सम्बन्धित महत्वपूर्ण दस्तावेज सुरक्षित छन् ।
सी र उनकी पत्नी त्यसपछि शुक्रबार नै वासिङ्टनबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

