पश्चिम नवलपरासीको सुनवल नगर अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माइक खोस्नुका साथै कागजात च्यातेपछि मतदान प्रक्रिया स्थगित भएको छ । ६ वटा पालिकामध्ये ५ वटामा भने अधिवेशन सम्पन्न भइसकेको छ ।
दुई दिनसम्म भएको सहमतिको प्रयास विफल भएपछि बिहीबार सुनवलमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदान सुरु गर्नै लाग्दा विवाद उत्पन्न भएको हो।
कँडेलले निर्वाचन स्थलमा पुगेर ‘यो चुनाव हुन्न’ भन्दै माइक खोसेर फालेको बताइएको छ । उनले निर्वाचनसम्बन्धी कागजात र फाइल च्यातेपछि माहोल तनावग्रस्त बनेको थियो। स्थिति असामान्य बनेपछि निर्वाचन समितिले सूचना जारी गर्दै ‘कँडेलले निर्वाचन सामग्री र फाइल च्यातेको तथा दुई पक्षबीच विवादका कारण शान्ति सुरक्षामा अवरोध पुगेकाले मतदान कार्य स्थगित गरिएको’ जनाएको छ।
साँझ साढे ६ बजे मतदानको समय तोकिएको थियो। यस अधिवेशनमा कुल मतदाता संख्या ३ सय ५६ रहेको छ। नगर समितिका लागि आवश्यक सदस्यहरूको निर्विरोध मनोनयन भइसकेकाले बाँकी ५ जना पदाधिकारीका लागि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको थियो।
करिब दुई घण्टाभित्र मतदान सम्पन्न गर्ने तयारी भइरहँदा मतदान स्थल पुगेका कँडेल पक्षधर कार्यकर्ताले चुनाव शुक्रबार सार्नुपर्ने अडान लिएका थिए। तर, अर्को पक्षले मतदाताहरू लाइनमा बसिसकेको र सबै तयारी पूरा भइसकेकाले तत्काल मतदान हुनुपर्ने अडान राखेपछि तनाव बढेको हो । विवाद र झडपको स्थिति बनेपछि कँडेललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर सुनवल चोकसम्म पुर्याएको थियो।
सर्वसम्मतिको प्रयास असफल भएपछि सुनवलमा दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए। नगर सभापति पदमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डे आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। यमलाल नेता भीमबहादुर थापा (भरत) पक्षका र यज्ञप्रसाद नेता कँडेल पक्षका उम्मेदवार हुन् ।
गत प्रतिनिधि सभा निर्वाचनका क्रममा टिकट वितरणलाई लिएर कँडेल र थापाबीच सुरु भएको राजनीतिक टकरावको असर अहिलेको नगर अधिवेशनमा समेत देखिएको कार्यकर्ताहरू बताउँछन्। उक्त निर्वाचनमा थापाको उम्मेदवारी कायम भई कँडेलको टिकट रद्द भएपछि दुई नेताबीचको सम्बन्ध चिसिएको थियो।
सुनवल थापाको गृहक्षेत्र भएकाले त्यहाँ आफ्नो पक्ष कमजोर हुने आकलन गरी कँडेल पक्षले जानाजानी विवाद झिकेको संस्थापनइतर पक्षको आरोप छ। निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक छलफल र समन्वयपछि स्थगित मतदान प्रक्रिया पुनः सुरु गरिने जानकारी दिए।
यसैबीच, पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा सभापति पदका लागि निर्वाचन भएको छ भने अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
प्रतापपुर गाउँपालिकामा भएको निर्वाचनबाट केशव अधिकारी सभापतिमा विजयी भएका छन्। उनले १३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संघर्ष जयसवालले ६८ मत मात्र पाए। विजयी अधिकारी प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्षसमेत हुन्।
त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको सभापतिमा रवीन्द्र सहानी निर्वाचित भएका छन्। सहानी र दिनेशमणि पटेलबीच भएको प्रतिस्पर्धामा कुल खसेको १३६ मतमध्ये सहानीले ८९ मत ल्याई विजयी भए भने पटेलले ४७ मत प्राप्त गरे। १४० मतदाता रहेको सो पालिकामा बाँकी पद सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए।
जिल्लाका बाँकी चार पालिका-रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा भने सबै पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।