नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन १ घण्टा पनि नसर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महाधिवेशनको तिथि मिति कहीँ कतै सर्छ कि भनेर अलमलमा नपर्न आग्रह गरे ।
उनले भने, ‘केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुन्छ। असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन १ घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला ।’
महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरेको जिकिर गर्दै सबैले भाग लिने विश्वास व्यक्त गरे। महाधिवेशनलगत्तै पार्टीपंक्ति जनतासँग सम्बन्ध जोड्न देश दौडाहमा निस्किने उनको भनाइ छ ।
उनले भने, ‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ। जिम्मेवारीमा नआउने साथीहरूलाई पनि साथ लिएर नागरिकहरूसँगको विश्वास जोड्न हामी ७७ जिल्ला पुग्छौँ ।’
आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले कहाँ जोखिम उठाउनुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताए ।
उनले थपे, ‘जहाँ नरम हुनुपर्छ त्यहाँ नरम हुने हो, जहाँ निर्मम हुनुपर्छ हुने हो । पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम हुने हो। पार्टीभित्रको एकता बनाउनको लागि नरम हुने हो। मैले त्यही सिकेको छु ।’