नेपाल सरकारको अनुरोधमा एफबीआईका फरेन्सिक विशेषज्ञहरूले विनाशकारी बाढीपछि विपद्मा ज्यान गुमाएकाहरूको पहिचान (डीभीआई) गर्न नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्।
एफबीआईले विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराउँदै नेपाली सरकारसँगको समन्वयमा अधिकारीहरूलाई मृतकको पहिचान गर्न र अमेरिकी नागरिकसहित यस त्रासदीमा ज्यान गुमाएका सबैका परिवारलाई आफ्ना आफन्तबारे जानकारी उपलब्ध गराउन सहयोग गरिरहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
२०० किलोमिटरभन्दा लामो बाढी प्रभावित क्षेत्र र ठूलो संख्यामा बेपत्ता तथा मृतकको पहिचान गर्नुपर्ने अवस्थाका कारण यो प्रक्रिया निकै सावधानीपूर्वक र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने हुन्छ। एफबीआईले सकेसम्म छिटो काम सम्पन्न गर्न नेपालका विभिन्न तहका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको छ।
‘खोज तथा उद्धारका प्रयासहरू जारी रहँदा संयुक्त राज्य अमेरिका आफ्ना नागरिकलाई हराइरहेका आफन्तको खोजीमा सहयोग गर्न र नेपाललाई आवश्यक सहायता उपलब्ध गराउन प्रतिबद्ध छ’, दूतावासले भनेको छ, ‘बाढीबाट प्रभावित सबैप्रति, आफ्ना प्रियजन गुमाएकाहरूप्रति हाम्रो गहिरो सहानुभूति छ। साथै, अझै बेपत्ता रहेकाहरू सकुशल फर्किने आशा हामीले निरन्तर गरिरहेका छौँ।’