चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको थियो।
कार गुडिरहेकै अवस्थामा आगलागी भएको स्थानीयले बताएका छन्।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले अनुसन्धानका क्रममा मृतकको पहिचान खुलेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र भुषण यादवकाअनुसार आगलागीमा परेर कार चालक अमर पराजुली हुन्।
प्रहरीका अनुसार उनी नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक समेत हुन्।
पराजुली आज बिहान कार चलाएर हेटौँडाबाट भरतपुरतर्फ निस्किएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।