काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैँलाई आगो लगाएर घाइते भएकी लक्ष्मीदेवी बस्नेतलाई कीर्तिपुर बर्न अस्पताल भर्ना गरिएको छ।
वीर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई परिवारको इच्छाअनुसार मंगलबार राति नै कीर्तिपुर अस्पताल लगिएको हो।
वीर अस्पतालका वरिष्ठ प्लास्टिक र बर्न सर्जन डाक्टर पीयूष दाहालका अनुसार उनको २५ देखि ३० प्रतिशत जलेको छ।
यसैबिच आज उनको शल्यक्रिया गर्न लागिएको कीर्तिपुर बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए।
‘आज शल्यक्रिया हुँदै छ’, उनले भने, ‘अवस्था क्रिटिकल नै छ।’
गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवीले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैँलाई आगो लगाएकी हुन्।
जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन भइरहँदा उनले आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्याएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
ती युवती बोल्न नसकेकाले आगो लगाउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।