प्रतिनिधिसभामा आज रवि लामिछानेको सम्बोधन

 संवाददाता    २०८३, २४ भाद्र बुधबार ११:५६     35 जनाले पढ़िसके



Spread the love

आज (बुधबार) बस्ने प्रतिधिनिसभा बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘आज सदनमा सम्बोधनका लागि सभापतिज्यूले सभामुखसँग समय माग्नुभएको छ’, उनले भने।

सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजै दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठक पनि बस्दै छ।

बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने छन्।