भोटेकोसी बाढीको उद्गमस्थलमा पृथ्वीका कुनै मानिस पुगेका छैनन् : डा. महेश्वर ढकाल

 संवाददाता    २०८३, २४ भाद्र बुधबार ११:५२     36 जनाले पढ़िसके



Spread the love

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले यही भदौ १० बिहान भोटेकोसी नदीमा भीषण बाढी आउनुको कारण जलवायु परिवर्तन भएको बताएका छन्।

यसका लागि थप प्रमाण खोजिरहन नपर्ने र बाढी जलवायु परिवर्तनकै कारण आएकामा दुविधा नरहेको जिकिर उनले गरेका छन्।

साथै उनले भोटेकोसी बाढी उत्पत्ति भएको स्थानमा अहिलेसम्म कुनै मानिस नपुगेको दाबीसमेत गरेका छन्।

‘यही भदौ १० गते अर्थात् अगस्ट २६ गते बिहान भोटेकोसी नदीमा जुन किसिमको बाढी आयो, यो जलवायुजन्य जोखिम हो। यसको प्रभाव तल्लो तटीय क्षेत्रमा बस्ने समुदायदेखि नेपालको सम्पूर्ण तह र तप्काका नागरिकले भोग्नुपरेको छ। यसका लागि थप प्रमाण खोजिरहनुपर्ने अवस्था छैन। भोटेकोसीमा आएको बाढी जलवायु परिवर्तनका कारण हो कि होइन भन्नेमा कुनै दुविधा हुनुपर्छ भन्ने मलाई लाग्दैन’ उनले भनेका छन्, ‘अहिलेसम्मका वैज्ञानिक प्रतिवेदन तथा अध्ययन-अनुसन्धान हेर्दा पृथ्वीको तापक्रम समग्र रूपमा बढिरहेको छ। तल्लो तटीय क्षेत्रमा तापक्रम सामान्य रूपमा बढ्दा त्यसको प्रभाव उच्च हिमाली क्षेत्रमा अझ बढी पर्ने कुरा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) का अध्ययनले प्रमाणित गरिसकेका छन्।’

उनका अनुसार हिमाल पग्लिने, हिउँ पग्लिने तथा हिमताल बन्ने र फुट्ने क्रम जारी छ। त्यसका कारण तल्लो तटीय क्षेत्रमा बाढीपहिरो आउने र ठुलो मात्रामा धनजनको क्षति हुने जोखिम छ।

रासससँगको अन्तर्वार्तामा जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. ढकालले भनेका छन्, ‘यसअघि इम्जा र छ्योरोल्पा हिमतालको पानीको मात्रा घटाएर तल पठाउने कामलाई पनि जलवायु अनुकूलनको एउटा उदाहरणका रूपमा लिन सकिन्छ। आईपीसीको ‘क्रायोस्फियर एन्ड ओसियन इन द चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हेर्दा हिन्दुकुश हिमालय क्षेत्र, त्यसमा पनि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिको प्रभाव बढी परेको देखिन्छ। त्यसका कारण पानीका स्रोतहरू विस्तारै कम हुँदै जाने, डढेलो बढ्दै जाने तथा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नेलगायतका प्रमाण यसअघिका अध्ययन-अनुसन्धानले देखाइसकेका छन्।

उनका अनुसार अहिले हामीसामु आएका अध्ययन-अनुसन्धानका तथ्यांक समग्रमा हेर्दा तापक्रम वृद्धिका कारण हिउँ पग्लिएको देखिन्छ। हिउँ पग्लिँदै जाँदा ठुलाठुला जमेका बरफ पग्लिने क्रम सुरु हुन्छ। पानी पग्लिँदै जाँदा र हिउँको चापका कारण बरफका ढिक्का तल बग्ने क्रममा जमिनसमेत आफूसँगै बगाएर ल्याउँछन्।

‘माथिल्लो क्षेत्रमा भएको यही घटनालाई वैज्ञानिकहरूले हिमनदीजन्य चट्टानी पहिरो भनेका छन्। त्यसपछि तल्लो तटीय क्षेत्रमा, जहाँ जमिन भिरालो छ, माथिबाट बगेको हिउँसँगै आएको पानी, हिउँका ढिक्का खस्दा र पग्लिँदा परेको प्रभाव तथा त्यसले माटो, गेग्रान र अन्य पदार्थ बगाउँदै तल्लो तटीय क्षेत्रमा ल्याएको गति अकल्पनीय छ’, उनले भनेका छन्, ‘यस्तो घटना हुनसक्छ भनेर अनुमान गर्न सकिन्थ्यो तर यति ठुलो घटना यसरी नै हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था थिएन। अहिले हामीले बेहोरेको क्षति, त्यसको गति र प्रभाव हेर्दा यो जलवायुजन्य घटना हो भन्नेमा कुनै दुविधा छैन। अर्को महत्त्वपूर्ण कुरा के हो भने भोटेकोसी बाढी उत्पत्ति भएको ठाउँमा, मेरो जानकारी भएसम्म पृथ्वीको कुनै पनि मानिस पुगेको छैन। सबैले बाहिरबाट अनुमान गरेका छन्। अब हामीले यसलाई जलवायुजन्य घटना भनिसकेपछि कसैले होइन भन्छ भने त्यसको प्रमाण लिएर आउनुपर्छ। नत्र यो जलवायुजन्य होइन भन्ने आधार छैन। मेरो बुझाइमा यो शतप्रतिशत जलवायुजन्य घटना हो।’