‘सरकारलाई साथ दिन्छौँ तर कमजोरीमा मौन बस्दैनौँ’ : गगन थापा

 संवाददाता    २०८३, १४ भाद्र आईतवार १२:१९     42 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको यस घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।

विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै विपद् व्यवस्थापनमा सरकारलाई सहयोग आफूहरुको कर्तव्य भएको बताए।

उद्धार, राहत तथा पुनस्र्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्ने कांग्रेसको दायित्वसमेत रहेको स्पष्ट पारे। विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि काममा देखिएका कमी-कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको बताए।

उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो। यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पुर्‍याउनु हो।’

रास्वपा सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकले सबै राजनीतिक दलबीच संसदभित्रै साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको बताए। संयन्त्रलाई तत्काल पूर्णता दिएर काममा लैजान रास्वपा सभापतिसँग थप छलफल गर्ने बताए।

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको समेत जानकारी दिए।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ। टोलीले प्रभावित क्षेत्रमा देखिएका समस्या समेटेर प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्रसमेत बुझाएको थापाले बताए।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरिएको छ। समितिले प्रभावित क्षेत्रमा समन्वय तथा राहत-उद्धारका कामलाई अघि बढाइरहेको छ। समितिका सदस्य सचिव माधव थापाले पार्टीका तर्फबाट भइरहेको गतिविधिबारे बैठकमा जानकारी गराउने कार्यक्रम रहेको थियो।

पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नसमेत आह्वान गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य, सांसद, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका कमिटीले आफ्नो तर्फबाट रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए।

उनले पार्टीका कमिटीमा रहेका सदस्यले पार्टीको आन्तरिक कोषमार्फत रकम जम्मा गर्न र अन्य सहयोगीले भने सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गरे। राहत संकलनमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

उनलेसुरुङमा उद्धारका लागि बाह्य मुलुकको सहयोग लिन सरकारलाई आग्रह गरेको पनि बताए। नेपालमा उपलब्ध प्राविधिक विज्ञताले मात्र उद्धार सम्भव नहुने जानकारी पाएपछि आफूले परराष्ट्रमन्त्रीसँग सम्पर्क गरी आवश्यक परे बाह्य मुलुकबाट विशेषज्ञ तथा उद्धार सहयोग लिन आग्रह गरेको जानकारी गराए।

प्रभावित क्षेत्रबाट प्राप्त सूचनालाई सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम पार्टीले निरन्तर गर्ने उनले बताए।

नुवाकोट र रसुवाका वडा अध्यक्ष तथा पार्टीका वडा सभापतिसँग प्रत्यक्ष सम्पर्क गरी स्थानीय अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको पनि उनले बताए। कांग्रेसका कुनै पनि तहले सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न निर्देशन दिए।

उनले आफू भोलि पार्टीको विपद् टोलीसहित प्रभावित क्षेत्रमा जानेसमेत जानकारी दिए।