नेपाल विद्युत् प्राधिकरणले भोटेकोशीको बाढीबाट प्रभावित क्षेत्रहरूमा वैकल्पिक तरिकाले बिजुली पुर्याउने तयारी गरेको छ । वैकल्पिक तरिका अपनाएर भएपनि बिजुली पुर्याउने काम धमाधम भइरहेको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए ।
उनका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनः सुचारु गरेको छ ।
बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको छ ।
‘नुवाकोट जिल्लाभर तीन बजेसम्म बिजुली पुर्याउने तयारी गरिएको छ । यस जिल्लामा बालाजु र त्रिशूलीको बिजुली तानेर जिल्लाभर व्यवस्थापन गर्न लागेका छौँ’, शाहीले भने ।
त्यस्तै, चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत् आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटमा परिचालन गरेको छ ।