नेपालका बाढीपीडितलाई अमेरिकाको राहत, ५ लाख डलर सहयोग

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार ११:५६     25 जनाले पढ़िसके



Spread the love

नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउने व्यक्तिका परिवार तथा प्रियजनहरूप्रति अमेरिकाले समवेदना व्यक्त गरेको छ।

‘यस विपत्तिबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ’, अमेरिकाले भनेको छ, ‘अमेरिकी विदेश मन्त्रालयले यस स्थितिलाई नजिकबाट नियालिरहेको छ र प्रतिकार्य प्रयासहरूमा सहयोग गर्न विपद् प्रतिकार्य सल्लाहकारलाई यस क्षेत्रमा खटाउँदै छ।’

मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसलाई प्रदान गरेको वैश्विक अनुदानमार्फत ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) को सहायता पनि उपलब्ध गराउने जनाउँदै बाढीबाट प्रभावित समुदायहरूलाई आपत्कालीन आश्रय र राहत सामग्रीका साथै पानी, सरसफाइ र स्वच्छतामा मद्दत पुर्‍याउने उल्लेख गरेको छ।

काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी र मद्दत गर्न स्थानीय अधिकारीहरूसँग निकट रूपमा काम गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

‘नेपालमा रहेका अमेरिकी नागरिकहरूलाई बाढीसँग सम्बन्धित आकस्मिक सहयोग आवश्यक भएमा KathmanduACS@state.gov मार्फत अमेरिकी दूतावासमा सम्पर्क गर्नुहोस् । प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारको निगरानी गर्न, स्थानीय अधिकारीहरूका निर्देशनको पालना गर्न र महत्त्वपूर्ण सुरक्षा तथा आपत्कालीन जानकारी प्राप्त गर्न step.state.gov मा गई Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुन जोडदार रूपमा प्रोत्साहित गर्दछौँ’, सूचनामा भनिएको छ।