रसुवा लगायत बाढी प्रभावित क्षेत्रका पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत उक्त सहयोगको घोषणा गर्दै विपत्तिको यस कठिन घडीमा निजी क्षेत्रले सरकार र समुदायसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
रसुवा र अन्य प्रभावित क्षेत्रहरूबाट आएका दृश्यहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति संवेदना व्यक्त गरेका छन् । साथै, अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारहरूको पीडामा गोल्छा ग्रुप साथमा रहेको उनले बताए ।
‘यस्तो कठिन घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु हाे, अध्यक्ष गोल्छाले भने, ‘निजी क्षेत्र पनि एकजुट भएर राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनु हाम्रो साझा जिम्मेवारी हो ।’
गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो पूर्ण साथ र ऐक्यबद्धता रहेको जनाएको छ।