बाढी प्रभावित रसुवामा सेनाको मेडिकल टिमसहित उद्धार टोली खटियो

 संवाददाता    २०८३, १० भाद्र बुधबार ११:०८     20 जनाले पढ़िसके



Spread the love

रसुवास्थित भोटेकोसी नदीमा आज बुधबार बिहान आएको भीषण बाढीले क्षति भएको स्थानमा नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको हो।

नेपाली सेनाका अनुसार बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रदेखि नदी तटीय क्षेत्रसम्म क्षति भएको जानकारी प्राप्त भएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको इमरजेन्सी मेडिकल टिम (ईएमआरटी) एमआई-१७ हेलिकप्टरसहित मुभ भइसकेको छ।

साथै धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको नेपाली सेनाले नेपालखबरलाई जानकारी दिएको छ।

क्षतिको विवरण संकलन भइरहेको छ।

बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन आग्रह र उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेनाले अनुरोध गरेको छ।

लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।

‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’

अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ।