तिब्बत तर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ। यसमा निर्माणाधीन र सञ्चालनमा रहेका दुवै खालका जलविद्युत् आयोजना परेका छन्।
ती जलविद्युत् आयोजनाका विद्युत्गृह र सबस्टेसन ध्वस्त भएको सुरुवाती आकलन छ।
मन्त्रालयका अनुसार रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली ३ ए (६० मेगावाट) तथा बी (३७ मेगावाट), मैलुङ १४ मेगावाट, त्रिशूली-बेनिघाट ३५ मेगावाटका जलविद्युत् परियोजनामा क्षति भएको छ।
यसैगरी बाढीले ५७ मेगावाटको साञ्जेन (अप्पर) र साञ्जेन जलविद्युत् आयोजनामा पनि क्षति भएको मन्त्रालयले नेपालखबरलाई जानकारी दिएको छ।
‘के कति क्षति भएको हो भन्नेबारेमा आधिकारिक जानकारी आएको छैन, त्यहाँ कार्यरत कर्मचारीहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ’, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘अझै पनि बाढी आइरहेकाले क्षतिको विवरण संकलन गर्न गाह्रो भइरहेको छ।’
इप्पानका सीईओ भीमप्रसाद गौतमले पनि क्षतिबारे बुझ्ने काम भइरहेको बताए।