सर्भेक्षकको सम्पत्तिमा अख्तियारको छानबिन, पौने ४ करोड अवैध ठहर

 संवाददाता    २०८३, ९ भाद्र मंगलवार १६:२७     0 View



Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले सुडीले ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै आज मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धान अनुसार सुडीले अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४२ साल वैशाख १६ देखि २०८१ जेठ मसान्तसम्मको अवधिमा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक रूपमा आय गरेको देखिएको छ । तर, सोही अवधिमा उनको खर्च र विभिन्न क्षेत्रमा गरिएको लगानी भने ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा देखिएको छ ।

आफ्नो वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च गरेको र सो रकमको स्रोत खुलाउन नसकेपछि अख्तियारले उनलाई भ्रष्टाचारको मुद्दा चलाएको हो ।

अवैध रूपमा आर्जन गरिएको सम्पत्ति सुडीले आफ्नी श्रीमती सुमित्रादेवी शाहको नाममा समेत राखेको पाइएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ । श्रीमती सुमित्राको नाममा रहेका घर, जग्गा तथा अन्य सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

सुडी २०४६ वैशाख १६ गते सरकारी सेवामा अमिन पदबाट अस्थायी नियुक्ति लिई प्रवेश गरेका थिए। लामो समय सार्वजनिक सेवामा रहँदा उनले पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।