मेयर फोरमले रास्वपाका सांसद आशिका तामाङले सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।
आज पत्रकार सम्मेलन गरेर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सांसद तामाङको व्यवहारप्रति आपत्ति जनाए।
उनले भने, ’त्यो बैठक सङ्घीय पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा बस्नुपर्ने थियो। तर उहाँ बिरामी भएकाले सूचना तथा सञ्चार मन्त्री माननीय डाक्टर विक्रम तिमिल्सिनाले गर्नुभयो। तर पनि त्यसमा हामीलाई कुनै आपत्ति छैन। हामी बैठकमा बस्यौँ। तर बैठकमा आशिका तामाङ आइसकेपछि बैठकको माहौल बिग्रँदै गयो।’
उनले बैठकमा सांसद तामाङले ताण्डव नृत्य देखाएको आरोप लगाए।
उनले थपे, ’उहाँले आफ्नो ताण्डव नृत्य देखाउनुभयो। बैठकको अध्यक्षता गर्नुहुने माननीय विक्रम तिमिल्सिनालाई त अप्ठ्यारो पर्यो। अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामीले सकेनौँ। उहाँको बोलिचाली हाम्रो निमित्त पनि ज्यादै नै असह्य थियो। तसर्थ हामीले उहाँलाई जवाफ दिने प्रयास गर्यौँ। उहाँको चैँ सुन्ने धैर्यता थिएन।’
सांसद तामाङले अन्य बैठकमा पनि यस्तै व्यवहार देखाउने गरेको उनको बुझाइ छ।
मेयर महर्जनले भने, ’बैठकहरूमा उहाँको यस्तै व्यवहार देखाउने चलन रहेछ। त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोर्याउनुभयो।’
उनले बैठकको अध्यक्षता गरिरहेका मन्त्री तिमिल्सिना पनि बैठकमा ताण्डव नृत्य हुँदा पनि मूकदर्शक बनेको टिप्पणी गरे। उनले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड दिए।