सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन (शुक्रबार) नै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पोखरा प्रस्थान गरेका छन्।
अब केही बेरमा रास्वपाको दोस्रो केन्द्रीय समितिको बैठक बस्दै छ।
तर प्रधानमन्त्री शाह त्यसअघि बिहानै गाडीमा पोखरातर्फ लागेका हुन्।
जसले गर्दा आजको बैठकमा उनी हुने छैनन्।
शाहलाई गत साउन १३ गते मात्र रास्वपाले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।
आज बस्ने रास्वपाको बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न विभागमा प्रमुख मनोनयन गर्ने निर्णय गर्दै छ।
तर यस्तो महत्त्वपूर्ण बैठकमा वरिष्ठ नेता बालेन भने अनुपस्थित हुने भएका छन्।
उनलाई प्रथम महाधिवेशनपछि रास्वपाले गत साउन १३ गते वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उनी रास्वपा संसदीय दलका नेता पनि हुन्।
त्यसो त बालेन आफूलाई वरिष्ठ नेता बनाउने दिन पनि रास्वपाको बैठकमा सहभागी भएका थिएनन्।
काठमाडौँ महानगरपालिकाको मेयर पद त्याग्दै शाह गत पुस १३ गते आफ्नो समूहसहित रास्वपामा एकताबद्ध भएका थिए। त्यसबेला पनि उनलाई वरिष्ठ नेता नै बनाइएको थियो।
रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन पनि एक भएपछि फागुन २१ को प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट जितेर बहुमतको सरकार बनेको छ।