प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री शाह सवार गाडी यो समाचार तयार पार्दासम्म धादिङ पुगेको थियो । उनी शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई भने अवगत गराइएको छैन ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।
‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन,’ पासवानले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए । प्रहरीले भ्रमणबारे आफूहरूसँग जानकारी मागेको उनको भनाइ छ ।
प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन । मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए । यद्यपि सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ ।
स्रोतका अनुसार उनी शुक्रबार अपराह्न पोखरा पुग्नेछन् । पोखरा पुगेपछि प्रधानमन्त्री शाह कास्कीको अन्नपूर्ण गाउँपालिका-अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी छ । उनका लागि उक्त रिसोर्ट बुक भइसकेको बताइएको छ ।