विद्युतमा लगाइएको कर हटाउन विदेशमा पनि हस्ताक्षर संकलन गर्दै उज्यालो नेपाल पार्टी

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:१०     18 जनाले पढ़िसके



Spread the love

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाइएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु भइसकेको बताएका छन्। आज जोरपाटीमा अभियानको थालनी गर्दै विदेशमा रहेका नेपालीहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको बताए।

उनले भने, ‘हामीले अभियान थालेको पाँचौँ दिनमा जोरपाटीको चोकबाट हस्ताक्षर अभियान हामीले सुरु गरेका छौँ। यो अभियान देशव्यापी रूपमा अगाडि बढेको छ। यो देश भित्र मात्रै होइन, विदेशमा पनि अगाडि बढेको छ। विदेशका हाम्रा प्रवासका साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गरेका छन्।’

अभियानको मुख्य उद्देश्य सरकारले विद्युतमा लगाएको कर हटाउनु भएको बताए।

उनले भने, ‘सरकारले विद्युतमा कर लगाएपछि हामीले पटक–पटक बोलेका थियौँ। पटक–पटक हामीले विज्ञप्ति जारी गरेका थियौँ। सामाजिक सञ्जालमा बोलेका थियौँ, तर त्यसको सम्बोधन भएन। संसद्मा रहेका दलहरूले पनि यो विषयमा गम्भीर रूपमा आवाज उठाएको देखिएन। तसर्थ हामीले सडकबाट हस्ताक्षर अभियान आम जनताको अभिमत बुझ्नको लागि यो अभियान थालेका हौँ।’

हस्ताक्षर अभियानबाट सरकारले विद्युतमा भ्याट फिर्ता गराउन जनदबाब सिर्जना गर्ने उनको विश्वास छ।